लेबनान – पूर्वी लेबनानको रियाक क्षेत्रमा इजरायली हवाई आक्रमणमा हिजबुल्लाह समूहका तीन जना कमान्डर मारिएका छन् भने आठ जना घाइते भएका छन्।
लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) अनुसार आक्रमणमा १० सर्वसाधारणको मृत्यु भएको र ३० भन्दा बढी घाइते भएका छन्। मृतकमध्ये हिजबुल्लाहका कमान्डर हुसेन मोहम्मद याघी, अली जाइद अल–मुसावी र मोहम्मद इब्राहिम अल–मुसावी रहेका छन्।
हेजबुल्लाहले विज्ञप्ति जारी गर्दै हुसेन मोहम्मद याघीको शोक व्यक्त गर्दै उहाँलाई “लेबनान र यहाँका जनताको रक्षामा शहीद” भएको उल्लेख गरेको छ।
लेबनानी सुरक्षा स्रोतहरूले इजरायली लडाकु विमानहरूले हिजबुल्लाह साइटसहित पूर्वी लेबनानका क्षेत्रहरूमा छ वटा हवाई आक्रमण गरेको बताएका छन्।
सन् २०२४ नोभेम्बर २७ देखि हिजबुल्लाह र इजरायलबीच युद्धविराम सम्झौता लागू भए पनि इजरायली सेनाले कहिलेकाहीँ लेबनानमा आक्रमण जारी राखेको छ।
