मनाङ – प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गए पनि मनाङका केही मतदान केन्द्रको अनुगमन हुन सकेको छैन। प्रमुख जिल्ला अधिकारी नवराज पौड्याल का अनुसार यहाँको हिमपात र भौगोलिक कठिनाइका कारण नार्पाभूमि गाउँपालिकाका मतदान केन्द्रको अनुगमन प्रभावित भएको हो।
पौड्यालले भने, “मनाङ ङिस्याङ गाउँपालिकाका नौवटै मतदान केन्द्रको अनुगमन सम्पन्न भएको छ। चामे र नासोँ गाउँपालिकाका केन्द्रको अनुगमन भए पनि नार्पाभूमिका केन्द्रमा अझै पुग्न सकिएको छैन।”
मनाङको सदरमुकाम चामे बाट नार्पाभूमि पुग्न दुई दिन लाग्ने हुँदा वडा नं १–३ मा नार क्षेत्रमा तीन र वडा नं ४–५ को फू क्षेत्रमा दुई गरी कुल पाँच मतदान केन्द्र छन्। मौसमको चुनौतीलाई मध्यनजर गर्दै अस्थायी रूपमा मतदान केन्द्र सदरमुकाम सार्ने विषयमा स्थानीय पालिकासँग छलफल भइरहेको छ।
नार्पाभूमि गाउँपालिकामा ४८८ मतदाता रहेका छन्। जिल्लामा महिला ३,६२३ र पुरुष ३,३७७ गरी कुल ७,००० मतदाता छन्। यसअघि विसं २०७९ को प्रतिनिधिसभा निर्वाचनमा ६,७७९ मतदाता थिए, यसपटक २२१ मतदाता थपिएका छन्।
मनाङको एकमात्र निर्वाचन क्षेत्रका लागि नेपाली कांग्रेसका टेकबहादुर गुरुङ, नेपाल कम्युनिष्ट पार्टीका यशोदा सुवेदी गुरुङ र मङ्गोल नेसनल अर्गनाइजेसनका रामबहादुर गुरुङ बीच प्रतिस्पर्धा हुने छ।
