तुलसीपुरमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यक्रममा कार्यकर्ता र शुभेच्छुकहरूले स्वर्गीय राजा वीरेन्द्रको शालिकमाथि चढेर अमर्यादित व्यवहार गरेको घटनाप्रति खुश्बु ओलीले कटाक्ष गरेकी छन्।
शनिबार फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ओलीले यो घटनालाई गम्भीर सार्वजनिक चिन्ताको विषय ठहराउँदै नयाँ दलको अनुशासन र राजनीतिक संस्कृतिमाथि प्रश्न उठाएकी छन्। उनले तुलसीपुरको चोकमा भएको यस व्यवहारलाई ‘क्षणिक गल्ती’ मान्न नसकिने बताएकी छन्।
ओलीका अनुसार, "यसले हाम्रो समाज आफ्नै सभ्यतागत स्मृति, सांस्कृतिक मर्यादा र ऐतिहासिक चेतनाबाट कति टाढिँदै गएको छ भन्ने गहिरो संकेत गर्दछ। धेरैका लागि, यसले राजनीतिक साक्षरता र नागरिक शिक्षाको अभाव देखाएको छ।"
साथै, उनले ऐतिहासिक व्यक्तित्व र सार्वजनिक स्मारकहरूले समाजको सामूहिक पहिचान बोकेको स्मरण गराउँदै यस्ता अमर्यादित व्यवहारले सम्बन्धित पक्षलाई नै घाटा पुर्याउने चेतावनी दिएकी छन्।
