म्याग्दीमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारहरूले पुराना चुनावी शैलीमा परिवर्तन गरेका छन्।
विगतका निर्वाचनमा भित्तामा टाँसिने ठूला पोस्टर–पम्प्लेट र सभाभन्दा यो पटक उम्मेदवारहरूले टोल–बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद, घरदैलो र साना कार्यक्रम सञ्चालन गर्ने नीति अपनाएका छन्। साथै, सामाजिक सञ्जालमार्फत ‘डिजिटल प्रचार सामग्री’ को प्रयोगमा प्राथमिकता दिइएको छ।
नेपाली कांग्रेस, नेकपा (एमाले), स्वतन्त्र उम्मेदवार महावीर पुन, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा (माओवादी) लगायतका उम्मेदवारहरूले फेसबुक, टिकटक, युट्युब, पोडकास्ट तथा प्रत्यक्ष प्रसारणमार्फत प्रचार गरिरहेका छन्। स्वतन्त्र उम्मेदवार पुन टोल–टोलमा घुम्दै हाते माइकमार्फत मतदातासँग संवाद गरिरहेका छन्।
उम्मेदवारहरूले राष्ट्रिय गौरवका आयोजना जस्तै कालीगण्डकी करिडोर कालोपत्र, सडक निर्माण, खानेपानी, शिक्षा, कृषि प्रवर्द्धन, स्वास्थ्य सेवा र रोजगारीका मुद्दालाई प्राथमिकतामा राखेका छन्।
स्थानीय बुद्धिजीवी राजु केसीले नयाँ उम्मेदवारको उपस्थिति र बदलिँदो प्रचार शैलीले यसपटक निर्वाचनलाई अझ रोचक बनाएको बताएका छन्।
निर्वाचन नजिकिँदै गर्दा डिजिटल प्रविधिको प्रयोग बढेसँगै साइबर सुरक्षा चुनौती पनि बढेको छ। उम्मेदवारका सामग्रीमा नकारात्मक टिप्पणी र द्वन्द्व बढ्ने देखिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी कडा भएको जनाएको छ।
म्याग्दी निर्वाचन क्षेत्रमा ८६,३९७ मतदाता रहेका छन्। जिल्लामा ८२ मतदानस्थल र १२० मतदान केन्द्र कायम गरिएको छ।
