रौतहटको सदरमुकाम गौर नगरपालिका–६ सवगढामा शनिबार बिहान पुनः झडप हुँदा अवस्था तनावग्रस्त बनेको छ।
जिल्ला प्रशासन कार्यालयको पहलमा शुक्रबार साँझ दुवै पक्षबीच ६ बुँदे सहमति भएको थियो। तर शनिबार बिहान करिब ९ बजेदेखि पुनः ढुंगा–मुढा चल्न थालेपछि स्थिति तनावपूर्ण बनेको हो।
झडप बढ्दै गएपछि स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सयौँ सुरक्षाकर्मी परिचालन गरिएको छ। घटनास्थलमा जिल्ला प्रहरी प्रमुख एसपी सिताराम रिजाल र सशस्त्र प्रहरीका एसपी रामहरी अधिकारी खटिएका छन्।
यसअघि जिल्ला प्रशासन कार्यालय गौरमा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको उपस्थितिमा वार्ता भएको थियो। वार्तामा सामाजिक सद्भाव कायम गर्ने, संयमता अपनाउने र आउँदो २१ गते हुने निर्वाचनमा सबैको सहभागिता सुनिश्चित गर्ने लगायत ६ बुँदे प्रतिबद्धता गरिएको प्रशासनले जनाएको छ।
सो घटनाअघि सवगढामा विवाहको जन्ती जाँदा दुई समुदायबीच विवाद उत्पन्न भई ढुंगा हानाहान भएको थियो। केही व्यक्ति घाइते भएका थिए र उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर पठाइएको थियो, जहाँ अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
शनिबार बिहान करिब सवा ९ बजे चार–पाँच सय जनाको भीड जम्मा भएपछि पुनः झडप भएको छ। स्थिति नियन्त्रणका लागि १२ राउण्ड हवाई फायर र ४० राउण्ड अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी विष्णुप्रदीप बस्यालले जानकारी दिए।
घटनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ र प्रहरीले सर्वसाधारणलाई संयमता अपनाउन आग्रह गरेको छ।
