काठमाडौँस्थित निर्वाचन आयोगले देशभरका सबै निर्वाचन क्षेत्रमा मतपत्रसहित अन्य निर्वाचन सामग्री ढुवानी कार्यलाई तीव्र बनाएको जनाएको छ।
आयोगका अनुसार सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा मतपत्र ढुवानी सम्पन्न भइसकेको छ भने अन्य प्रदेशमा पनि नियमित रूपमा सामग्री पठाउने काम जारी छ। वाग्मती प्रदेशसहित बाँकी प्रदेशमा ढुवानी प्रक्रिया निरन्तर अघि बढाइएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने (FPTP) र समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्रको छपाइ यसअघि नै सम्पन्न भइसकेको छ। पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छपाइ तथा प्याकिङ गरी सम्बन्धित निर्वाचन क्षेत्रमा पठाइसकिएको आयोगले जनाएको छ।
आयोगले गत माघ २९ गतेदेखि कर्णाली प्रदेशबाट मतपत्र ढुवानी सुरु गरेको थियो। त्यसपछि सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा क्रमशः ढुवानी सम्पन्न गरिएको हो। काठमाडौँ उपत्यकाभित्रका मतदान केन्द्रमा पनि केही दिनभित्रै मतपत्र पुर्याइने जनाइएको छ।
मतपत्रबाहेक अन्य निर्वाचन सामग्रीको ढुवानी भने सम्पन्न भइसकेको आयोगले उल्लेख गरेको छ। निर्वाचनका लागि कुल ५१ प्रकारका सामग्री आवश्यक पर्ने जनाइएको छ।
मतपत्र छपाइ आयोगको कार्यतालिकाअनुसार जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा सम्पन्न गरिएको हो। मतदाता शिक्षाका लागि गत पुस २२ गतेदेखि छपाइ सुरु गरी १० लाख ९८ हजार २०० नमूना मतपत्र छापिएको थियो।
यसैगरी, समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ गत पुस २६ गतेदेखि सुरु भई माघ १३ गते सम्पन्न भएको थियो। उक्त प्रणालीअन्तर्गत दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ गरिएको आयोगले जनाएको छ।
