फेवाताल किनार क्षेत्रमा निर्माण गरिएका अवैध संरचना १५ दिनभित्र हटाउन पोखरा महानगरपालिकाले चेतावनी दिएको छ। महानगरले सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयसीमाभित्र संरचना हटाउन अल्टिमेटम दिएको हो।
सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा तालको सिमाङ्कन कार्य सम्पन्न भइसकेको र सो मापदण्डभित्र अवैध संरचना निर्माण नगर्न निर्देशन दिइएको महानगरले जनाएको छ। तालको उच्चतम विन्दुबाट ६५ मिटर क्षेत्रभित्र पछिल्लो समय रातारात संरचना निर्माण भइरहेको पाइएको छ। केही समयअघि महानगरले त्यस्ता अवैध संरचनामा डोजरसमेत चलाएको थियो।
सार्वजनिक सूचनामा सिमाङ्कनअघि निर्माण भएका संरचना सर्वोच्च अदालतको आदेशबमोजिम व्यवस्थापन हुने उल्लेख गर्दै सिमाङ्कनपछि तालको उच्चतम विन्दुबाट ६५ मिटरभित्र निर्माण गरिएका सबै अनधिकृत संरचना १५ दिनभित्र हटाउन सम्बन्धित पक्षलाई सूचित गरिएको छ।
तोकिएको समयसीमाभित्र संरचना नहटाए महानगरपालिकाले कानुनबमोजिम हटाउने र सो क्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुलउपर गरिने चेतावनी दिइएको छ। साथै, ६५ मिटर क्षेत्रभित्र पर्ने जग्गाको वर्गीकरणसम्बन्धी कार्य अन्तिम चरणमा पुगेको पनि महानगरले जनाएको छ।
