नयाँ दिल्लीमा सुरु भएको ‘दोस्रो इन्डो–नेपाल व्यापार महोत्सव २०२६’लाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल–भारत आर्थिक सहकार्यलाई थप परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका छन्।
उनले सहज भन्सार प्रक्रिया, मापदण्ड समन्वय, डिजिटल व्यापार प्रणाली सुदृढीकरण तथा साना–मझौला उद्योगलाई वित्तीय पहुँच र प्रविधि हस्तान्तरणमा सहजीकरण आवश्यक रहेको बताए।
अध्यक्ष ढकालले भारत नेपालका लागि सबैभन्दा ठूलो व्यापार साझेदार र प्रमुख लगानी स्रोत रहेको उल्लेख गर्दै खुला सीमा, सांस्कृतिक निकटता र जनस्तरको सम्बन्धले दुई देशबीचको साझेदारीलाई विशिष्ट बनाएको धारणा राखे।
विश्व अर्थतन्त्र अनिश्चितता र आपूर्ति शृङ्खलामा अवरोधको अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै उनले छिमेकी राष्ट्रबीच सहकार्य अझ सुदृढ गर्नुपर्ने बताए। भारतको हालैको केन्द्रीय बजेटले पूर्वाधार, डिजिटल कनेक्टिभिटी, हरित ऊर्जा तथा साना–मझौला उद्योग प्रवर्द्धनमा दिएको प्राथमिकताले नेपालका लागि पनि अवसर सिर्जना गर्ने उनको भनाइ थियो।
नेपाल जलविद्युतमा समृद्ध रहेको र भारततर्फ विद्युत् निर्यात सुरु भइसकेको उल्लेख गर्दै उनले उपयुक्त प्रसारण लाइन र नीतिगत स्थायित्व भए नेपाल भारतको विश्वासिलो हरित ऊर्जा साझेदार बन्न सक्ने बताए।
पर्यटन क्षेत्रमा नेपालले प्राकृतिक सौन्दर्य, साहसिक तथा आध्यात्मिक गन्तव्य प्रस्तुत गरेको उल्लेख गर्दै होटल, रिसोर्ट तथा केबलकार परियोजनामा लगानीको अवसर विस्तार भइरहेको उनले जानकारी दिए।
उनले ऊर्जा, पर्यटन, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सीमापार लजिस्टिक्स, कृषि प्रशोधन, औषधि उद्योग, शिक्षा र स्वास्थ्य सेवामा लगानीका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे।
नेपालको निजी क्षेत्रले राजनीतिक स्थायित्व र आर्थिक अनुशासनको पक्षमा सधैं आवाज उठाउँदै आएको उल्लेख गर्दै उनले दीर्घकालीन लगानीकर्ताको विश्वास कायम गर्न नीतिगत सुधार भइरहेका पनि बताए।
कार्यक्रममा अनिलकुमार सिन्हा, ज्योतिरादित्य सिन्धिया, गजेन्द्र सिंह सेखावत, तथा भारतका लागि नेपालका राजदूत शंकरप्रसाद शर्मालगायत उच्चस्तरीय प्रतिनिधिको उपस्थिति रहेको थियो।
