विराटनगर महानगरपालिका–७ सातघुम्तीस्थित जेबी ट्रान्सपोर्टबाट प्रहरीले बिल बिजकमा कम मूल्यांकन गरिएको ७ लाखभन्दा बढी मूल्यका लत्ताकपडा बरामद गरेको छ।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीका अनुसार ट्रान्सपोर्टमा भिसिटिएस बिलसमेत नभएको तथा बिल बिजकमा कम मूल्यांकन गरी सामान राखिएको भन्ने सूचनाका आधारमा खानतलासी गरिएको थियो। सो क्रममा ट्रान्सपोर्टभित्र सेतो प्लास्टिकका बोरामा प्याक गरेर राखिएका २० पोका लत्ताकपडा फेला परेको प्रहरीले जनाएको छ।
बरामद गरिएका कपडाको अन्दाजी मूल्य करिब ७ लाख ३० हजार रुपैयाँ रहेको छ। प्रारम्भिक अनुसन्धानबाट सामानको वास्तविक मूल्य लुकाएर बिल बिजकमा कम मूल्यांकन गरिएको तथा ढुवानीका क्रममा अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने भिसिटिएस प्रणालीमा प्रविष्ट नगरेको पाइएको डीएसपी चौधरीले जानकारी दिए।
बरामद गरिएको सम्पूर्ण लत्ताकपडा रीतपूर्वक मुचुल्का गरी थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि इटहरीस्थित राजस्व अनुसन्धान कार्यालय पठाइएको प्रहरीले जनाएको छ।
