चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज सम्मिलित कम्प्लेक्समा बाघ गणनाका क्रममा प्रयोग गरिएका ६० वटा क्यामेरा हराएका छन्।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार समस्याग्रस्त भएका ८५ क्यामेरामध्ये ६० वटा हराएका र २५ वटा बिग्रेका छन्। चितवन–पर्सा कम्प्लेक्समा बाघ गणनाका लागि कुल एक हजार ७८० वटा क्यामेरा प्रयोग गरिएको उनले बताए।
गत पुस ३ गतेदेखि सुरु गरिएको बाघ गणना बिहीबार सम्पन्न भएको हो। थापा मगरका अनुसार दुई राष्ट्रिय निकुञ्जलाई एक कम्प्लेक्सका रूपमा राखी तीन ब्लकमा विभाजन गरेर गणना गरिएको थियो। कुल ९५८ वटा ग्रिड बनाएर बाघ गणना गरिएको थियो, जहाँ प्रत्येक दुई वर्ग किलोमिटर क्षेत्रलाई एक ग्रिड मानिएको थियो।
प्रत्येक ब्लकमा १७ रातसम्म क्यामेरा राखेर तथ्यांक संकलन गरिएको जनाइएको छ।
यसअघि सन् २०२२ मा गरिएको बाघ गणनाअनुसार नेपालमा ३५५ वटा वयस्क बाघ रहेका थिए। सो गणनामा चितवनमा १२८, बर्दिया निकुञ्जमा १२५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३६ वटा बाघ भेटिएका थिए।
