धनुषामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा आचारसंहिताविपरीत टाँसिएका करिब २० हजार प्रचार सामग्री हटाइएको छ।
जिल्ला प्रशासन कार्यालयले जनकपुरधाम नगर क्षेत्रभित्र विभिन्न उम्मेदवारले जथाभावी टाँसेका पर्चा, पम्पलेट, ब्यानर र पोस्टर हटाइएको जनाएको हो। प्रशासनका अनुसार सार्वजनिक स्थल, विद्युत् पोल, सरकारी भवन तथा सडक छेउछाउमा टाँसिएका सामग्री निर्वाचन आचारसंहिताविपरीत रहेको पाइएपछि हटाइएको हो।
निर्वाचन आचारसंहितालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रशासनले बिहीबार उम्मेदवार तथा राजनीतिक दललाई एक दिनको समय दिएर नियमविपरीतका प्रचार सामग्री आफैं हटाउन निर्देशन दिएको थियो। तोकिएको समयभित्र सामग्री नहटाइएपछि प्रशासन आफैंले शुक्रबार करिब २० हजार प्रचार सामग्री हटाएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए।
उनका अनुसार जनकपुरधामका मुख्य बजार क्षेत्र, चोक, सार्वजनिक भित्ताहरू तथा सरकारी संरचनामा जथाभावी टाँसिएका प्रचार सामग्रीले सहरको सौन्दर्यमा असर पारेको र निर्वाचन आचारसंहिता उल्लङ्घन भएको पाइएकाले कारबाहीस्वरूप हटाइएको हो। अब पुनः यस्ता सामग्री टाँसे कानुनी कारबाही गरिने चेतावनी समेत दिइएको छ।
प्रमुख जिल्ला अधिकारी लुइँटेलले राजनीतिक दल तथा उम्मेदवारलाई प्रचारप्रसारका क्रममा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गर्दै स्वच्छ, मर्यादित र व्यवस्थित चुनावी वातावरण कायम गर्न प्रशासन कडाइका साथ अघि बढ्ने बताए।
