धनगढी–डडेल्धुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलालीको अत्तरियास्थित वनदेवी सडकखण्डमा शुक्रबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँदा घाइते भएका तीन जनाको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय मालाखेती (अत्तरिया)का अनुसार दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई उपचारका लागि धनगढीतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दका अनुसार सुप प्र०१-०१०३१८७ नम्बरको मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–२ का २२ वर्षीय हरिश ओलीको मृत्यु भएको छ। सोही मोटरसाइकलको पछाडि सवार गोदावरी नगरपालिका–६ लालपुरका २३ वर्षीय जीवन पाठक गम्भीर घाइते भएका छन् र उनको उपचार जारी रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, सुप प्र०१-००९प७७८१ नम्बरको मोटरसाइकल चालक गोदावरी नगरपालिका–१ का अन्दाजी २६ वर्षीय योगेन्द्र शाह र पछाडि सवार अन्दाजी २३ वर्षीय हरिश पार्कीको पनि मृत्यु भएको छ।
डीएसपी चन्दका अनुसार घटनास्थलको अवस्था हेर्दा मोटरसाइकल प्रतिघन्टा १०० किलोमिटरभन्दा बढी गतिमा चलाइएको देखिन्छ। दुर्घटनापछि मोटरसाइकलका पाङ्ग्रासहितका पाटपुर्जा उछिट्टिएको पाइएको छ। योगेन्द्र शाह यसअघि पनि दुई पटक मोटरसाइकल दुर्घटनामा परी घाइते भएका थिए।
प्रहरीका अनुसार मृतक हरिश ओली गोदावरीमा विवाह कार्यक्रममा सहभागी भई धनगढीतर्फ फर्किंदै गर्दा दुर्घटना भएको हो।
