तुलसीपुरमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)को झन्डा जलाएको आरोपमा थप दुई जना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरले तुलसीपुर उपमहानगरपालिका–६ का २४ वर्षीय विक्रम परियार र तुलसीपुर–४ का रमेश राना मगरलाई राति पक्राउ गरेको जनाएको छ।
यसअघि शुक्रबार तुलसीपुर उपमहानगरपालिका–७ कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई पनि प्रहरीले पक्राउ गरेको थियो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होमबहादुर पराजुलीका अनुसार झन्डा जलाउने घटनामा संलग्न अन्य व्यक्तिको खोजी कार्य जारी रहेको छ।
बिहीबार राति करिब साढे ९ बजे तुलसीपुरको वीरेन्द्र चोकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको स्वागत कार्यक्रमका क्रममा भीडबाट केही व्यक्तिले एमालेको झन्डा जलाएका थिए। उक्त भिडियो सार्वजनिक भएपछि घटनाको चौतर्फी विरोध भएको थियो।
घटनापछि एमाले कार्यकर्ताले शुक्रबार बेलुका तुलसीपुर, घोराही र लमहीमा विरोध र्याली निकालेका थिए। तुलसीपुरस्थित रास्वपाको सम्पर्क कार्यालयमा आक्रमणको प्रयास भएपछि सुरक्षाकर्मीले हस्तक्षेप गरेका थिए।
दाङका प्रहरी प्रवक्ता डीएसपी रेशम बोहराले पक्राउ परेकाविरुद्ध कुन शीर्षकमा मुद्दा दर्ता गर्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए।
