बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शिवनाथ गाउँपालिका–३ अन्तर्गत भित्री सडकखण्डमा गए राति स्थानीय बछलाबाट बचरातर्फ जाँदै गरेको सुप्रप ०४–०११ ज ००६९ नम्बरको जिप दुर्घटनामा परेको हो।
दुर्घटनामा जिप चालक शिवनाथ–२ का २६ वर्षीय केशवसिंह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिएका छन्। गम्भीर घाइते भएका धामीलाई उपचारका लागि डडेल्धुरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
जिपमा चालक मात्र सवार रहेको प्रारम्भिक जानकारी छ। दुर्घटनाग्रस्त जिप सडकबाट करिब २०० मिटर तल खसेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
