काठमाडौँ । उपत्यका मेयर्स फोरमले काठमाडौँ उपत्यकाबाट उत्पादन हुने फोहरको वैज्ञानिक तथा दिगो व्यवस्थापनका लागि नेपाल सरकारसँग सहकार्य गर्ने निर्णय गरेको छ।
फोहर व्यवस्थापन अध्ययन तथा समन्वय समितिमार्फत फोहर व्यवस्थापनका विधि र प्रविधिको अध्ययन गर्नुका साथै आवश्यकताअनुसार उपत्यकाका सबै स्थानीय तहबीच समन्वय, सहजीकरण र सामूहिक व्यवस्थापनका लागि सरकारसँग सहकार्य गरिने जनाइएको छ।
फोरमका अध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको अध्यक्षतामा बसेको १३औँ बैठकले गोदावरीदेखि बूढानीलकण्ठसम्म साइकल लेनसम्बन्धी कानुन निर्माण गरी गुरुयोजना तयार गर्ने तथा पूर्वाधार निर्माण र सञ्चालनका लागि सरकारसँग सहकार्य गर्ने निर्णय गरेको छ।
बैठकपछि अध्यक्ष महर्जनले उपत्यकाको एकीकृत विकासका लागि सहकार्य आवश्यक रहेको उल्लेख गर्दै मेट्रोको अवधारणा कार्यान्वयन गर्न सङ्घ सरकारसँग सहकार्य गर्न स्थानीय तहहरू तत्पर रहेको बताए। उनका अनुसार मेट्रोको अवधारणाअनुसार आवश्यक पूर्वाधार निर्माण तथा सञ्चालनका लागि फोरम तयार छ।
बैठकमा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सार्वजनिक यातायात सञ्चालन गर्दा उपत्यकाको भूगोल, बस्तीको मौलिकता तथा सांस्कृतिक–सामाजिक विशेषता सुहाउँदो ढाँचाको उपयुक्त माध्यम छनोट गरी पूर्वाधार निर्माण गर्न सरकारसँग सहकार्य आवश्यक रहेको बताइन्।
उनले विगतमा सार्वजनिक यातायात प्रणालीबारे भएका अध्ययनहरूको पुनरावलोकन गरी ठोस निष्कर्षमा पुग्नुपर्ने आवश्यकता औँल्याइन्। “समस्या सीमाविहीन छन्। प्रशासनिक सीमाभन्दा माथि उठेर उपत्यकाका स्थानीय तहबीच सहअस्तित्व स्वीकार गर्दै समन्वयात्मक रूपमा सहकार्य गरेपछि मात्रै नतिजा आउँछ,” उनले भनिन्।
अध्यक्ष महर्जनका अनुसार सार्वजनिक यातायात सञ्चालनसम्बन्धी यसअघि तयार भएका अध्ययन प्रतिवेदनहरूको विश्लेषण र उपत्यकासुहाउँदो ढाँचाबारे आगामी बैठकमा विस्तृत प्रस्तुति गरिनेछ।
फोहर व्यवस्थापन, सार्वजनिक यातायात, खानेपानी वितरण, नदी सभ्यता संरक्षण, खाद्य स्वच्छता, विपद् व्यवस्थापन तथा जलवायु परिवर्तनका असर न्यूनीकरणजस्ता साझा समस्याको समाधानका लागि फोरमलाई प्रभावकारी रूपमा उपयोग गर्नुपर्नेमा बैठकले जोड दिएको छ।
