काठमाडौँ । राजधानी काठमाडौँमा वायुको गुणस्तर अत्यन्तै दयनीय अवस्थामा पुगेको छ। हाल काठमाडौँ विश्वकै सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा शीर्ष पाँचभित्र परेको छ।
वायु प्रदूषणको तथ्यांक सार्वजनिक गर्ने IQAir का अनुसार शुक्रबार बिहान काठमाडौँको एयर क्वालिटी इन्डेक्स (AQI) १८२ मापन गरिएको छ, जसले हावाको अवस्था ‘अस्वस्थ’ रहेको संकेत गर्दछ।
० देखि ५० सम्मको AQI राम्रो मानिन्छ भने ५१ देखि १०० सम्म मध्यम श्रेणीमा पर्छ। १५१ भन्दा माथि पुगेको अवस्थामा हावा अस्वस्थ मानिन्छ, जसले संवेदनशील समूह मात्र होइन, सर्वसाधारणलाई समेत असर पुर्याउन सक्छ।
आईक्यू एयरकै तथ्यांकअनुसार काठमाडौँको हावामा पीएम २.५ (PM2.5) को मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा १६.५ गुणासम्म बढी रहेको देखिएको छ। उपत्यकाका त्रिपुरेश्वर, बालकोट, कोटेश्वर र कुमारीपाटीलगायत क्षेत्रमा उच्च प्रदूषण मापन गरिएको छ।
वायु प्रदूषण बढ्दै जाँदा बाहिर व्यायाम वा मोर्निङ वाक नगर्न विज्ञहरूले सुझाव दिएका छन्। आवश्यक परेमा मात्र बाहिर निस्कन, मास्क प्रयोग गर्न, झ्यालढोका बन्द राख्न तथा एयर प्युरिफायर प्रयोग गर्न सल्लाह दिइएको छ।
विश्वकै सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा पहिलो स्थानमा लाहोर रहेको छ, जहाँ AQI ४१२ मापन गरिएको छ, जुन ‘अत्यन्त खतरनाक’ श्रेणीमा पर्छ। त्यसपछि क्रमशः ढाका दोस्रो, नयाँ दिल्ली तेस्रो र कोलकाता चौथो स्थानमा रहेका छन्।
(सूची हेर्नुहोस्)

