सुर्खेत – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको सिफारिस कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।
कर्णालीको सुर्खेतबाट आगामी निर्वाचन लक्षित सार्वजनिक गरिएको १०० बुँदे वाचा पत्रको दोस्रो नम्बरमै आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने उल्लेख गरिएको छ। वाचा पत्रमा ‘२०८२ साल भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको बल प्रयोगलगायतका घटनाको छानबिन गर्न गठित न्यायिक जाँचबुझ आयोगको प्रतिवेदनमा समावेश सुझाव तथा सिफारिस कार्यान्वयन गरिने’ जनाइएको छ।
जेनजी आन्दोलनपछि पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा न्यायिक जाँचबुझ आयोग गठन गरिएको थियो। आयोगले छानबिन प्रक्रिया सम्पन्न गरिसकेको छ भने प्रतिवेदन निर्वाचनपछि मात्रै सार्वजनिक गरिने जनाइएको छ।
सरकारले माघ महिनाको अन्तिमतिर आयोगको कार्यावधि २५ दिन थप गरेको थियो।
