काठमाडौँ – फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मतदाता शिक्षा कार्यक्रम देशभर सञ्चालन भइरहेको छ।
निर्वाचन आयोगले यही फागुन ३ गतेदेखि देशका ७५३ वटै पालिकाका ६ हजार ७४३ वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरेको जनाएको छ। ती स्वयंसेवकले घरदैलोमै पुगेर नमूना मतपत्रमार्फत मतदान प्रक्रियाबारे जानकारी दिइरहेका छन्।
कार्यक्रम प्रभावकारी बनाउन स्थानीय तहले सहजीकरण र समन्वय बढाएका छन्। पथरी शनिश्चरे नगरपालिका, मटिहानी नगरपालिका र शिवपुरी गाउँपालिकालगायतका पालिकाका प्रमुखहरूले आयोगको निर्देशनअनुसार मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको र शान्तिपूर्ण निर्वाचनका लागि आवश्यक समन्वय गरिरहेको बताएका छन्।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रभावकारी मतदाता शिक्षाले बदर मतको अनुपात घटाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले सबै पालिका, राजनीतिक दल, उम्मेदवार तथा सञ्चारमाध्यमलाई सहयोग गर्न आग्रह गरिएको छ।
