सर्लाही जिल्लामा पेस्तोल पड्किँदा १५ वर्षीय एक बालक घाइते भएका छन्।
मलंगवा नगरपालिका–४ ढाका गाउँका रामविश्वास रायका छोरा आकाश राम घाइते भएका हुन्।
उनको दाहिने हातको पञ्जामा गोली लागेको छ। हाल उनको उपचार प्रादेशिक अस्पताल मलंगवामा भइरहेको छ भने अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईका अनुसार आकाशको घरदेखि करिब सय मिटर पूर्वतर्फ निर्माणाधीन हनुमान मन्दिरमा रातो कपडाले बेरेर राखिएको पेस्तोल उनले फेला पारेका थिए। नक्कली ठानेर चलाउने क्रममा पेस्तोल पड्किँदा गोली उनको हातमा लागेको हो।
घटनास्थलबाट एक थान पेस्तोल र पड्किएर त्यसैमा अड्किएको एक थान खोका बरामद गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
