सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन साह ले बिहीबार वीरेन्द्रनगरमा आयोजित ‘हामी आयौँ’ परिवर्तन उद्घोष सभालाई संक्षिप्त सम्बोधन गरेका छन्। उनले करिब तीन मिनेट बोले पनि सम्बोधनमा कर्णालीको सभ्यता, राजनीतिक विकृति र सम्भावनाका विषय समेटेका थिए।
उनले कर्णालीको पहिचान, प्राकृतिक स्रोत र ऐतिहासिक महत्त्वलाई जोड दिँदै रारा ताललगायत देशका महत्वपूर्ण सम्पदाको संरक्षण र उपयोगमा राज्यले पर्याप्त ध्यान नदिएको टिप्पणी गरे। कर्णालीको गहिरो सम्भावनालाई बुझेर काम गर्ने पार्टी रास्वपा हुने उनको दाबी थियो।
डोल्पाको यार्सागुम्बा विश्व बजारसम्म पुग्न सक्ने तर कर्णालीकै स्याउ र मार्सी चामल देशका अन्य जिल्लासम्म पुग्न नसक्नु विडम्बना भएको उनले उल्लेख गरे। स्थानीय उत्पादनलाई राष्ट्रिय बजारसँग जोड्ने प्रतिबद्धता उनले व्यक्त गरे।
सिंजा उपत्यकालाई नेपाली भाषा र खस सभ्यताको उद्गमस्थलका रूपमा स्मरण गर्दै उनले यहाँको भाषा, लिपि, कला, संस्कृतिको संरक्षणमा जोड दिए। काठमाडौं महानगरपालिकामा नेवाः सभ्यता संरक्षणका लागि गरिएको प्रयासजस्तै कर्णालीको सभ्यता जोगाउने प्रतिबद्धता उनले जनाए।
कर्णालीमा भोकमरी, बाल तथा मातृ मृत्युदर अझै उच्च रहेको उल्लेख गर्दै उनले गरिबीको राजनीति गर्नेभन्दा समस्याको वास्तविक समाधान खोज्ने नेतृत्व आवश्यक रहेको बताए। पर्यटन, कृषि, आयआर्जन र पूर्वाधार विकासमार्फत कर्णालीको समृद्धि सम्भव रहेको उनको भनाइ थियो।
‘अब कर्णालीका सपना हाम्रा सपना’ भन्ने प्रतिबद्धतासहित उनले वाचा पत्रमार्फत परिवर्तनको सुरुवात कर्णालीबाटै गरिएको उल्लेख गर्दै सम्बोधन टुंग्याए।
