नेकपा एमालेले आगामी निर्वाचनमा सरकारको नेतृत्व पाए तत्काल कार्यान्वयन गर्ने ११ वटा प्रमुख कामहरूको प्रतिबद्धता जनाएको छ। बिहीबार काठमाडौंको तारे होटल एभरेस्टमा सार्वजनिक गरिएको घोषणापत्रमा एमालले युवा, श्रमिक, महिला र उद्यमी लक्षित योजनाहरू प्रस्तुत गरेको छ।
घोषणापत्रअनुसार, १८–२८ वर्ष उमेर समूहका जेनजिए युवालाई हरेक महिना १० जीबी इन्टरनेट डाटा निःशुल्क उपलब्ध गराइनेछ। यससँगै, युवाहरूलाई प्रत्येकलाई १० हजार अमेरिकी डलर बराबरको बैंक कार्ड प्रदान गरिने छ, जसबाट उनीहरूले एआई, डिजिटल मार्केटिङ, एप विकास र अन्य स्टार्टअप व्यवसायका तालिम तथा सेवा सहज रूपमा प्रयोग गर्न सक्नेछन्।
एमालेले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको सम्मान स्वरूप वार्षिक ५ हजार रुपैयाँ जम्मा गर्ने र सामाजिक सुरक्षा प्रणालीमा निरन्तरता सुनिश्चित गर्ने पनि घोषणापत्रमा उल्लेख गरेको छ।
विद्यार्थीलाई लक्षित गरेर, प्राविधिक उच्च शिक्षाका लागि २० लाखसम्म निर्ब्याजी ऋण र न्यूनतम पारिश्रमिकसहितको इन्टर्नसिपको व्यवस्था गरिनेछ। साथै, किशोरीका लागि निःशुल्क प्याड र कक्षा १० सम्मका विद्यार्थीलाई खाजा प्रदान गर्ने प्रतिबद्धता पनि जनाइएको छ।
श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुर्याउने र सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आवद्ध गर्ने लक्ष्य एमालले प्रस्तुत गरेको छ। शिक्षकको मर्यादा र सामाजिक सुरक्षालाई पनि प्राथमिकतामा राखिने छ।
स्वास्थ्य र महिला लक्षित योजनाहरूमा, स्वयंसेविकालाई २० हजार भत्ता, गर्भवती महिलाको लागि मातृ–शिशु पोषण भत्ता प्रतिजन्म २० हजार र ५ लाख रुपैयाँसम्म जीवन बीमा निःशुल्क गरिने जनाइएको छ।
गरीब परिवारका ऋण मिनाहा गर्ने, महिला उद्यमीलाई २० लाखसम्म निर्ब्याजी ऋण र निःशुल्क बीमा प्रदान गर्ने, र सुरक्षाकर्मीको सम्मान तथा कल्याण सुनिश्चित गर्ने विषय पनि घोषणापत्रमा समावेश गरिएको छ।
एमालेको यो घोषणापत्रले पार्टीले आगामी सरकार गठनमा युवा, श्रमिक, महिला र उद्यमीको विकास तथा सामाजिक सुरक्षालाई प्राथमिकता दिने नीति स्पष्ट रूपमा देखाएको छ।
