श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायलसँगको श्रम सम्झौता छिट्टै नवीकरण हुने जनाएको छ। मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेका अनुसार दुवै देशबीच सम्झौता नवीकरणका लागि पत्र आदान–प्रदान भइसकेको छ र एक चरणको भर्चुअल बैठक सम्पन्न भइसकेको छ। अब अर्को बैठक बस्ने तयारी भइरहेको छ।
सम्झौता नवीकरणको क्रममा यसअघि इजरायलमा कृषि इन्टर्न गरेका युवालाई पुनः कृषि फार्ममै रोजगारी दिने एजेन्डा समावेश हुने बताइएको छ। मन्त्रालयले कृषि फार्ममा रोजगारी गर्दा आकर्षक आम्दानी हुने दाबी गरेको छ।
नेपाल र इजरायलबीचको श्रम सम्झौता प्रत्येक पाँच वर्षमा नवीकरण गर्नुपर्ने प्रावधान रहेको छ। यसअघि २१ पुसमा मन्त्रिपरिषद्को बैठकले सम्झौता नवीकरण गर्न स्वीकृति दिएको थियो। सोही दिन ओमानसँग नयाँ श्रम सम्झौता गर्ने प्रस्ताव पनि स्वीकृत गरिएको मन्त्रालयले जनाएको छ
