काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न स्थानबाट चोरी भएका ५३ वटा दुई पाङ्ग्रे सवारी साधन फेला पारेर बिहीबार सम्बन्धित धनीहरूलाई हस्तान्तरण गरेको छ। कार्यक्रममा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले ३१ वटा मोटरसाइकल र २२ वटा स्कुटर धनीहरूलाई जिम्मा लगाएका छन्।
प्रहरीका अनुसार काँडाघारी, स्वयम्भू, दरबारमार्ग, चापागाउँ, नयाँ बसपार्क, बालकुमारी र थानकोट क्षेत्रहरूबाट यी सवारी साधन बरामद भएका थिए। कतिपय सवारी साधनमा चोरहरूले नक्कली नम्बर प्लेट राखेको पनि फेला परेको छ। चालु आर्थिक वर्षको साउन यता मात्रै ट्राफिक प्रहरीले २९६ वटा चोरी सवारी साधन फिर्ता गरिसकेको छ।
सवारी चोरीमा संलग्न २९ जनालाई पक्राउ गरी कारबाहीका लागि विभिन्न वृत्तमा पठाइएको जानकारी प्रहरीले दिएको छ।
सवारी साधन फिर्ता पाएपछि धनीहरूले सामूहिक रूपमा प्रहरीलाई धन्यवाद दिएका थिए। एसएसपी अधिकारीले सवारी चोरीबाट जोगिन एकान्तमा पार्किङ नगर्न, ह्यान्डल लक, डिस्क लक र जिपिएस प्रणाली जडान गर्न सुझाव दिएका छन्। साथै, सवारी हराएमा तत्काल ट्राफिक प्रहरीको हटलाइन १०३ वा नेपाल प्रहरीको १०० मा खबर गर्न आग्रह पनि गरेका छन्।
