काठमाण्डौ – कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्न निषेध रहेको बताएका छन्।
दशौँ निर्वाचन दिवसका अवसरमा काठमाण्डौमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले कुनै पनि सञ्चार संस्थाले चुनावअघि नै कुनै उम्मेदवार जित्ने घोषणा गर्नु निर्वाचन आचारसंहिताले प्रतिबन्धित भएको स्पष्ट पारे।
भण्डारीका अनुसार यस्तो सर्वेक्षणले अन्य प्रतिस्पर्धीको मनोबल घटाउने र मतदातामा भ्रम वा अनुचित प्रभाव पार्ने भएकाले यो कारबाहीयोग्य विषय हो। उनले सामाजिक सञ्जालमा बढ्दो दुरुपयोगप्रति चिन्ता व्यक्त गर्दै कसैको चरित्र हत्या गर्ने वा अतिरञ्जित रूपमा प्रस्तुत गर्ने गतिविधिबाट टाढा रहन आग्रह गरे।
साथै सामाजिक सञ्जालमा आउने सबै सामग्री सत्य नहुन सक्ने भएकाले प्रयोगकर्ताहरूलाई सचेत रहन पनि उनले सुझाव दिए।
