जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा बिहीबार दिउँसो जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन्।
जुम्लाबाट नाग्मातर्फ जाँदै गरेको जिप दिउँसो करिब १२:०५ बजे अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
दुर्घटनापछि निर्वाचन सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल नेपालको मोबाइल टोलीले स्थानीय प्रहरीसँग समन्वय गरी तत्काल उद्धार गरेको थियो। फागुन २१ गते हुन लागेको निर्वाचन सुरक्षाका क्रममा सुरक्षाकर्मी घटनास्थल नजिकै रहेकाले उद्धार कार्य छिटो हुन सकेको जनाइएको छ।
सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णु प्रसाद भट्टका अनुसार घाइतेहरूलाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याइएको छ। प्रारम्भिक अनुसन्धानअनुसार तीव्र गतिका कारण जिप अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।
