काठमाडौं । इन्जिनियर प्रमोदकुमार यादवको हत्या भएको चार दिन बितिसक्दा पनि संलग्न व्यक्तिहरूको पहिचान हुन नसकेपछि सिरहामा स्थानीयवासी आन्दोलनमा उत्रिएका छन्। यादवको गोली हानी हत्या गरिएको थियो।
स्थानीयले धनगढीमाई बजार क्षेत्रमा महेन्द्र राजमार्ग केही समय अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरूले मृतकका परिवारलाई न्याय दिन, घटनाको निष्पक्ष छानबिन गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्।
आन्दोलनकारीहरूले अपराधीको सुराकसमेत पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा माग गरेका छन्। न्याय नपाए थप सशक्त आन्दोलन गर्ने चेतावनीसमेत दिइएको छ।
प्रहरीले भने घटनाको अनुसन्धान तीव्र रूपमा अघि बढाइएको र संलग्न व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ।
