विश्वप्रकाश शर्माले प्रधानमन्त्रीलाई पाँच वर्षसम्म स्थिर रूपमा काम गर्न सक्ने सुनिश्चितता दिने नयाँ संवैधानिक प्रावधानसहितको राजनीतिक सहमतिको प्रस्ताव अघि सारेका छन्।
धरानस्थित भानु चोकमा आयोजित सुनसरी–१ का उम्मेदवार सुजेन्द्र तामाङको प्रतिबद्धता घोषणा सभालाई सम्बोधन गर्दै उनले चुनावअघि नै सरकार, राजनीतिक दल, बौद्धिक क्षेत्र तथा जेनजी (Gen Z) समेत सहभागी हुने बृहत् सम्मेलन आयोजना गर्न आह्वान गरे।
उक्त सम्मेलनमार्फत वर्तमान संविधान र समग्र शासकीय पद्धतिमा आवश्यक सुधारका दर्जनभन्दा बढी बुँदामा सहमति जुटाएर साझा प्रस्ताव सार्वजनिक गर्नुपर्ने उनको धारणा थियो।
शर्माले नेपाली कांग्रेस बहुमतसहित सरकार गठन गर्ने लक्ष्यमा अघि बढिरहेको उल्लेख गर्दै स्थिर सरकार निर्माणका लागि चुनावपूर्व नै राष्ट्रिय सहमति अपरिहार्य रहेको बताए।
‘प्रधानमन्त्री पाँच वर्ष टिक्न र टिकाउन नयाँ सोचसहितको संवैधानिक प्रावधान आवश्यक छ,’ उनले भने। नेपालको पछिल्लो ७५ वर्षको राजनीतिक इतिहासमा कुनै पनि प्रधानमन्त्रीले लगातार पाँच वर्ष कार्यकाल पूरा गर्न नसकेको उल्लेख गर्दै उनले प्रणालीमै सुधार आवश्यक भएको जिकिर गरे।
उनले प्रत्यक्ष सिट र लोकप्रिय मतका आधारमा पहिलो हुने दलका नेताले पूरा पाँच वर्ष शासन गर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव राखे। बहुमत नपुगे ‘विनर्स टेक अल’ अवधारणाअनुसार आवश्यक समर्थन सुनिश्चित गर्ने र दोस्रो तथा तेस्रो दल पाँच वर्षसम्म प्रतिपक्षमै बस्ने गरी राष्ट्रिय सहमति गर्नुपर्ने उनको भनाइ थियो।
सभामुख चयनपछि बस्ने संसदको पहिलो बैठकबाट उक्त सहमतिलाई संविधानमा समेट्न सकिने सुझाव पनि उनले दिएका छन्।
