ढाका । तारिक रहमानले प्रधानमन्त्री पद सम्हालेलगत्तै १८० दिने विशेष प्राथमिकता योजना सार्वजनिक गरेका छन्। मंगलबार पद तथा गोपनीयताको शपथ लिएका उनले परम्परागत १०० दिने कार्ययोजनाको सट्टा ६ महिनाको विस्तृत कार्यखाका अघि सारेका हुन्।
नवनिर्वाचित प्रधानमन्त्री रहमानको योजनामा शान्ति–सुरक्षा सुदृढीकरण, महँगी नियन्त्रण, ऊर्जा आपूर्ति व्यवस्थापन तथा सार्वजनिक यातायात सुधारलाई चार मुख्य खम्बाका रूपमा प्राथमिकता दिइएको छ। उनले सबै मन्त्रालयलाई आगामी १८० दिनभित्र आ–आफ्नो क्षेत्रगत लक्ष्य निर्धारण गरी प्रभावकारी कार्यान्वयनमा जुट्न कडा निर्देशन दिएका छन्।
अपराध उन्मूलन र भ्रष्टाचार नियन्त्रणलाई सरकारको प्रमुख एजेन्डा बनाउँदै प्रधानमन्त्री रहमानले नागरिकलाई शान्ति र सुरक्षाको प्रत्याभूति गराउने प्रतिबद्धता व्यक्त गरे। शपथसँगै मन्त्रीहरू पनि कार्यान्वयनमा सक्रिय देखिएका छन्। गृहमन्त्री सालाउद्दिन अहमदले देशमा कुनै पनि प्रकारको हिंसात्मक गतिविधि हुन नदिने र लागुऔषध नियन्त्रणमा शून्य सहनशीलता नीति अपनाइने बताएका छन्।
विदेश नीतितर्फ विदेशमन्त्री कलिलुर रहमानले ‘बंगलादेश फर्स्ट’ अवधारणा अघि सार्दै राष्ट्रिय हितलाई सर्वोपरि राखिने स्पष्ट पारे। उनले स्वर्गीय राष्ट्रपति जियाउर रहमानको विदेश नीतिलाई मार्गदर्शक मान्दै सबै राष्ट्रसँग मैत्रीपूर्ण सम्बन्ध कायम गरिने उल्लेख गरे।
यसैबीच, प्रधानमन्त्री रहमानले पवित्र रमजानको अवसरमा शुभकामना व्यक्त गर्दै महँगी नियन्त्रणमा विशेष ध्यान दिन र खाद्यान्नको मूल्य सर्वसाधारणको पहुँचभित्र राख्न व्यवसायीहरूलाई आग्रह गरेका छन्।
