झापाको बाह्रदशी गाउँपालिकामा जंगली हात्तीको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन्।
आज बिहान करिब ५:४५ बजे बाह्रदशी–१ बोक्राझारी निवासी लखनलाल राजवंशीकी ५० वर्षीया पत्नी लिला राजवंशी आफ्नै निर्माणाधीन पक्की घरमा पानी हाल्दै गरेकी थिइन्। सोही क्रममा लक्ष्मीनाथ सामुदायिक वन, भागुडुब्बाबाट आएको जंगली हात्तीले अचानक आक्रमण गरेको बताइएको छ।
हात्तीको आक्रमणबाट उनको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। घाइते राजवंशीलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
