सुनसरी — रास्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक अवस्था र चुनाव प्रक्रियाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। सुनसरीको चक्रघट्टीमा आयोजित चुनावी सभामा उनले २०८४ मा हुनुपर्ने चुनावलाई २०८२ मा जबरजस्ती गराइएको आरोप लगाउँदै यसले समस्या समाधान नगर्ने बताएका हुन्।
लिङ्देनले भने, “यही व्यवस्था ठिक छ र यही चुनावबाट जनताको अवस्था सुध्रिन्छ भनेर मुलुकलाई जबरजस्ती चुनावतर्फ लगियो भने समस्या केही समयका लागि टर्ला, तर पछि झन् जटिल र भयानक बन्नेछ, देश दुर्घटनातर्फ जानेछ।”
उनले देशमा कसैले पनि आफूलाई निषेधित भएको महसुस नगर्ने वातावरण बनाउन राजा, राजनीतिक दल र नवयुवा पुस्ताबीच नयाँ समझदारी आवश्यक रहेको बताए। प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएका सन्देशलाई सकारात्मक रूपमा लिन राजनीतिक दलहरूलाई आग्रह गर्दै उनले “नेपाल प्रथम, नेपाली प्रथम” भावनासहित नयाँ सहमति गर्न आह्वान गरे।
लिङ्देनले आगामी चुनाव देशका लागि सही हुनेछ कि नहुने विषय गम्भीरतापूर्वक विचार गरेर मतदान गर्न जनता, दल र सरोकारवालालाई आग्रह गरे। उनले वर्तमान व्यवस्थामा चुनाव भए देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिँदै समस्या व्यक्तिमा मात्र नभई व्यवस्थामा रहेको र त्यसको सुधार आवश्यक रहेको उल्लेख गरे।
