काठमाडौँ — पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसले मुलुकलाई दिगो शान्ति, सुशासन, विकास र समृद्धिको बाटोमा अघि बढ्न नयाँ उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरेकी छिन्। प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नेपाली जनताले निरंकुश शासनविरुद्ध गरेको ऐतिहासिक सङ्घर्ष र बलिदानीको स्मरण गरिन्।
भण्डारीले जनताको एकताबद्ध शक्तिले लोकतन्त्र र राजनीतिक स्वतन्त्रता सम्भव भएको भन्दै यस दिनलाई प्रेरणाको स्रोतका रूपमा चित्रण गरेकी छिन्। उनले लोकतन्त्रलाई केवल राजनीतिक व्यवस्थाका रूपमा मात्र नभई जीवन पद्धति र संस्कारका रूपमा आत्मसात् गर्नुपर्नेमा जोड दिइन्। संविधानले दिएका अधिकार र कर्तव्यको सन्तुलित प्रयोग गर्दै लोकतान्त्रिक अभ्यासलाई थप बलियो बनाउनु आजको आवश्यकता भएको उनको भनाइ छ।
पूर्व राष्ट्रपतिले आगामी फागुन २१ गते हुन गइरहेको आम निर्वाचनको महत्त्वबारे पनि चर्चा गर्दै यसलाई निष्पक्ष, शान्त र विश्वसनीय ढङ्गले सम्पन्न गराउनु सबै सरोकारवाला र नागरिकको साझा जिम्मेवारी भएको स्पष्ट पारेकी छिन्।
