हुबेई — नयाँ वर्षको अवसरमा चीनको मध्य हुबेई प्रान्तको जिनपु गाउँमा बुधबार दिउँसो आतसबाजी पसलमा भएको विस्फोटमा १२ जनाको मृत्यु भएको छ। मृतकमध्ये सात जना वयस्क र पाँच जना बालबालिका रहेका छन्।
राज्य प्रसारणकर्ता चाइना सेन्ट्रल टेलिभिजन (सिसिटिभी)ले उद्धृत गर्दै घटनास्थलमा खोजी तथा उद्धार कार्यपछि सबै मृतकको पहिचान पुष्टि गरेको जनाएको छ। पसलका मालिक ‘मिस्टर लिन’ बाहेक बाँकी ११ जना ग्राहकहरू मृत्यु भएको जनाइएको छ। तीमध्ये तीन जना करिब ७८० किलोमिटर टाढा रहेको चेङ्दुबाट आफ्ना आफन्त भेट्न आएका थिए।
चन्द्र नयाँ वर्षको अवसरमा ग्रामीण क्षेत्रमा आतसबाजी र पटाखा फोड्ने परम्परा अझै लोकप्रिय रहेको भए पनि सुरक्षा र प्रदूषण नियन्त्रणका कारण प्रमुख सहरहरूले यसको प्रयोगमा प्रतिबन्ध लगाइसकेका छन्।
स्थानीय प्रहरीले विस्फोटको कारणबारे अनुसन्धान सुरु गरेको छ। यसअघि गत आइतबार पूर्वी जियाङ्सु प्रान्तको एक आतसबाजी पसलमा भएको विस्फोटमा आठ जनाको मृत्यु भएको थियो।
