काठमाडाैँ — मध्य नाइजेरियाको पठार राज्यको बसार जिल्लास्थित जुराक खानी क्षेत्रमा बुधबार भएको ग्यास विस्फोटमा कम्तीमा ३८ जना खानी मजदुरको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।
स्थानीय समुदायका नेता अल्हाजी अलियु अदामु इद्रिसले घटनाको पुष्टि गर्दै भने, “विस्फोटमा परी अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ र घाइतेहरुलाई अस्पताल लगिएको छ।”
स्थानीय समयअनुसार बिहान ७ः३० देखि ८ः०० बजेसम्म विस्फोट भएको बताइएको छ। घटनास्थल नजिक बस्ने मजदुर इब्राहिम दत्तिजो सानीले टेलिफोनमार्फत एएफपीलाई बताए, “खानीको खाल्डोमा काम गरिरहेका बेला अचानक ग्यास विस्फोट भयो।”
पश्चिम अफ्रिकी देश नाइजेरियामा विगतमा पनि यस्तै घातक खानी दुर्घटनाहरू भइरहेका छन्, जसले सुरक्षा व्यवस्थामा सुधारको आवश्यकता देखाएको छ।
