सन् २०२८ मा अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गर्ने आईसीसी पुरुष ट्वान्टी–२० विश्वकपका लागि १२ टोली छनोट भएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सहभागी टोलीको टुंगो लगाएको हो।
आयोजक राष्ट्रका रूपमा अस्ट्रेलिया र न्युजिल्यान्ड स्वतः विश्वकपमा छनोट भएका छन्।
यसैगरी, हाल जारी ट्वान्टी–२० विश्वकपको सुपर–८ चरणमा स्थान बनाएका भारत, श्रीलंका, दक्षिण अफ्रिका, जिम्बाब्वे, पाकिस्तान, इंग्ल्यान्ड र वेस्ट इन्डिज ले पनि सिधै २०२८ विश्वकपमा स्थान सुरक्षित गरेका छन्।
त्यस्तै, ट्वान्टी–२० अन्तर्राष्ट्रियको पछिल्लो वरियताका आधारमा अफगानिस्तान, बंगलादेश र आयरल्यान्ड ले पनि सहभागिता सुनिश्चित गरेका छन्।
अब क्षेत्रीय छनोटमार्फत बाँकी ८ टोलीले विश्वकप यात्रा तय गर्नेछन्। अमेरिका क्षेत्रबाट १, युरोप र अफ्रिकाबाट २–२ तथा एसिया र पूर्वी एसियाबाट ३ टोली विश्वकपमा प्रवेश गर्ने व्यवस्था गरिएको छ।
आगामी विश्वकपका लागि प्रारम्भिक रूपमा १२ टोलीको टुंगो लागेसँगै क्रिकेट समर्थकमाझ उत्साह थपिएको छ।
