बिहीबार स्थानीय बजारमा सुनको मुल्यमा अचानक उच्च वृद्धि भएको छ। यस साता अधिकांश चार दिन सुनको मूल्य ओरालो लाग्दै ५ हजार रूपैयाँभन्दा बढी घटिसकेको थियो, तर बिहीबार एकैदिन सुनको मूल्यमा ठूलो उछाल आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार सुनको मूल्य तोलामा ४००० रूपैयाँले वृद्धि भई प्रति तोला ३,०४,७०० रूपैयाँ पुगेको छ। यसअघि अघिल्लो दिन सुन प्रतितोला करिब ३,००,४०० रूपैयाँमा कारोबार भएको थियो।
उता, चाँदीको मूल्यमा पनि वृद्धि दर्ज भएको छ। चाँदी प्रतितोला १८० रूपैयाँले बढेर ५,०६० रूपैयाँ पुगेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४,८८० रूपैयाँमा कारोबार भएको थियो।
बजारमा सुन–चाँदीको मूल्यमा आएको यस वृद्धि र सोसँग सम्बन्धित आर्थिक कारणबारे सुनचाँदी व्यवसायी तथा लगानीकर्ताबीच चासो बढेको छ।
