राष्ट्रिय स्वतन्त्र पार्टी का बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टी परित्याग गरेका छन्। उनले आज महामन्त्रीसमक्ष राजीनामा बुझाउँदै पार्टीको साधारण सदस्यसमेत नरहने घोषणा गरेका हुन्।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काभ्रे–२ बाट उम्मेदवार बनेका हुमागाईँले आफ्नो राजीनामा पत्रमा पार्टी छाड्नुका सात कारण उल्लेख गरेका छन्।
हुमागाईँले उम्मेदवार छनोट प्रक्रियामा चरम आर्थिक चलखेल भएको आरोप लगाएका छन्। केन्द्रीय संरचना विस्तार, सदस्यता वितरण र आर्थिक व्यवस्थापनमा अपारदर्शिता देखिएको उनको दाबी छ।
उनले लेखेका छन्, “वर्षौँदेखि पार्टीमा समर्पित कार्यकर्ताहरूलाई पाखा लगाई अन्य दलबाट हालसालै आएका व्यक्तिहरूलाई प्राथमिकता दिइएको छ।”
उनका अनुसार जान्ने र सक्षम उम्मेदवार छनोट गर्ने प्रतिबद्धता व्यवहारमा लागू नभई सीमित व्यक्तिहरू, माथिल्ला नेताहरूलाई खुसी पार्ने ‘गणेश प्रवृत्ति’का पात्रहरूलाई प्रत्यक्ष र समानुपातिक दुवैतर्फ प्राथमिकता दिइएको छ।
हुमागाईँले “चरम चलखेलले संसदलाई चटकदार र अवसरवादी संरचनामा परिणत गर्ने संकेत देखिएको” टिप्पणी गरेका छन्।
हुमागाईँले २०७९ को निर्वाचनमा काभ्रे–२ बाट १० हजार ५७३ मत ल्याएका थिए। पछिल्लो समय पार्टीभित्र उम्मेदवार चयन प्रक्रिया र आर्थिक पारदर्शितामाथि प्रश्न उठाउँदै विभिन्न तहका नेताहरूले पार्टी छाड्ने क्रम बढेको छ।
यसअघि रास्वपाकी मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्मा तथा नेतृ खेमकुमारी (उर्मिला) भुर्तेलले पनि पार्टी परित्याग गरेका थिए।
पार्टीभित्र बढ्दो असन्तुष्टि र बाहिरिँदै गरेका नेताहरूको श्रृंखलाले आगामी निर्वाचनअघि रास्वपाको आन्तरिक व्यवस्थापनमाथि थप प्रश्न उठाएको छ।
