प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट दाङ–२ मा प्रतिनिधिसभा उम्मेदवार रहेका प्रतिक अधिकारी नेकपामा प्रवेश गरेका छन्।
प्रलोपाले एमालेसँगको सहमतिअनुसार दाङमा एमाले उम्मेदवारलाई सघाउने निर्णय गर्दै अधिकारीको उम्मेदवारी निष्क्रिय गरेपछि उनी असन्तुष्ट बनेका थिए। त्यसपछि अधिकारीलाई दाङ–२ का नेकपा उम्मेदवार निर्मल आचार्य र समानुपातिक उम्मेदवार भीमकुमारी बुढाले पार्टीमा स्वागत गरेका हुन्।
यसअघि नेकपा एमाले का उम्मेदवार शंकर पोखरेल लाई समर्थन गर्ने गरी प्रलोपाले दाङ–२ मा आफ्नो उम्मेदवारी फिर्ता लिएको थियो। एमाले र प्रलोपा बीच कर्णाली तथा लुम्बिनी प्रदेशका केही जिल्लामा पारस्परिक सहयोग गर्ने सहमति भएको जनाइएको छ।
अधिकारीको पार्टी प्रवेशसँगै दाङ–२ मा चुनावी समीकरण थप रोचक बनेको स्थानीय नेताहरू बताउँछन्। निर्वाचन नजिकिँदै जाँदा विभिन्न दलबीच तालमेल, उम्मेदवारी फिर्ता र दल प्रवेशका घटनाले राजनीतिक माहोल तातेको छ।
