‘हाम्रो राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईं लाई ससम्मान रिहा नगरेको भन्दै अभियानको सचिवालयले अनिश्चितकालीन नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
सचिवालयले विज्ञप्ति जारी गर्दै सरकारले प्रसाईंलाई बिना ठोस आधार हिरासतमा राखेको आरोप लगाएको छ। नागरिकको वाक स्वतन्त्रता र प्रजातान्त्रिक अधिकारमाथि धावा बोल्दै राज्यले दमनकारी कदम चालेको दाबी गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “सरकारले हाम्रो अभियान र प्रसाईंले उठाउनुभएका जनताका जायज माग सम्बोधन गर्नुको सट्टा राज्य शक्तिको दुरुपयोग गरी उहाँलाई बन्दी बनाएको छ। पटक–पटक शान्तिपूर्ण आग्रह गर्दा पनि वेवास्ता गरिएकाले कडा आन्दोलन घोषणा गर्न बाध्य भएका छौँ।”
सचिवालयका अनुसार फागुन ६ गतेदेखि देशभर अनिश्चितकालीन नेपाल बन्द आह्वान गरिएको छ। बन्दका क्रममा उद्योग, कलकारखाना, यातायात, शिक्षण संस्था तथा व्यापारिक प्रतिष्ठानहरू पूर्ण रूपमा बन्द गरिने जनाइएको छ।
बन्द अवधिभर देशभरका मुख्य चोक र जिल्ला सदरमुकामहरूमा शान्तिपूर्ण विरोध प्रदर्शन र कोणसभा आयोजना गरिने कार्यक्रम सार्वजनिक गरिएको छ।
राजसंस्था पुनर्स्थापनाको माग
महाअभियानले बौद्ध–किरातसहितको वैदिक सनातन हिन्दू अधिराज्य र राजसंस्था पुनर्स्थापनापछि मात्र निर्वाचन गर्नुपर्ने माग दोहोर्याएको छ। अभियानले अघि सारेका २७ बुँदे माग सम्बोधन गर्न सरकारलाई ध्यानाकर्षण गराएको जनाएको छ।
यसबीच सरकारले भने प्रसाईंको हिरासतबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन। आन्दोलनका कार्यक्रमले जनजीवनमा पर्ने प्रभाव र सुरक्षा अवस्थाबारे चासो बढेको छ।
