नेकपा एमाले का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मुलुक सामु तीन महत्वपूर्ण जिम्मेवारी रहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत सन्देश दिँदै उनले राष्ट्रिय स्वाधीनताको रक्षा, संविधानको संरक्षण तथा लोकतान्त्रिक अधिकारको सुनिश्चितता र विध्वंसबाट क्षतविक्षत भएका राष्ट्रका धरोहर, संस्कृति, उद्योग र पूर्वाधारको पुनर्निर्माणलाई वर्तमान समयका प्रमुख दायित्वका रूपमा उल्लेख गरे।
“आजको दिनले हामीलाई तीन महत्वपूर्ण जिम्मेवारी स्मरण गराउँछ,” ओलीले भनेका छन्, “राष्ट्रिय स्वाधीनता रक्षा गर्दै राष्ट्रको गरिमा जोगाउने, संविधानको संरक्षण गर्दै जनताका लोकतान्त्रिक अधिकार र मूल्यलाई जीवित राख्ने, र आम विध्वंसबाट क्षतविक्षत भएका धरोहर तथा पूर्वाधारको पुनर्निर्माण गर्दै नागरिकको सुरक्षा गर्ने।”
ओलीले प्रजातन्त्र दिवसलाई जनताको साहस, त्याग र बलिदानले जहानियाँ राणा शासनको अन्त्य गरी स्वतन्त्रता र अधिकारको बिहानी उदाएको ऐतिहासिक दिनका रूपमा स्मरण गरेका छन्। उनले अमर शहीद शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठ प्रति श्रद्धाञ्जली अर्पण गर्दै सम्मान व्यक्त गरेका छन्।
यता, एमालेले आजै काठमाडौंमा आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ। अध्यक्ष ओली तथा पार्टीका पदाधिकारीले विशेष कार्यक्रममार्फत घोषणापत्र सार्वजनिक गर्ने तालिका रहेको जनाइएको छ।
घोषणापत्रमा ‘समृद्ध नेपाल’ निर्माण, सुशासन, रोजगारी सिर्जना, सामाजिक न्याय र संस्थागत सुधारलाई प्रमुख एजेन्डा बनाइएको एमाले स्रोतले जनाएको छ।
मुलुकमा स्थिरता, विकास र सुशासन कायम गर्न नयाँ सत्ता समीकरण आवश्यक रहेको निष्कर्षसहित एमाले बहुमतको लक्ष्य लिएर निर्वाचनमा होमिएको बताइएको छ।
प्रजातन्त्र दिवसकै सन्देशसँगै सार्वजनिक हुन लागेको घोषणापत्रमार्फत एमालेले लोकतान्त्रिक मूल्य, राष्ट्रियता र विकासलाई चुनावी बहसको केन्द्रमा ल्याउने संकेत दिएको छ।
