काठमाडौं। सुशीला कार्कीले ७६औं प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेकी छन्।
प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै २००७ सालको जनक्रान्तिले रैतीलाई नागरिक बनाएको स्मरण गराइन्। साथै, उनले २०१५ सालमा आजकै दिनबाट पहिलो संसदीय निर्वाचनको सुरुआत भएको उल्लेख गर्दै यस दिनलाई निर्वाचन दिवसका रूपमा पनि सम्झाउन सुझाव दिइन्।
सामाजिक सञ्जालमा उनले लेखेकी छन्, “लोकतन्त्रलाई जीवनशैली बनाउन नेतृत्व तहबाटै चुक्यौं। पटकपटक आन्दोलन गर्नुपर्यो। अब त्यस नियतिको अन्त्य गर्नैपर्छ। भ्रष्टाचार, नातावाद र विभेदविरुद्धको सङ्कल्पलाई संस्थागत सुधारमार्फत सम्बोधन गरौं।”
प्रधानमन्त्री कार्कीले आजको दिनलाई निर्वाचन दिवसको रूपमा उल्लेख गर्दै स्वच्छ, निष्पक्ष र भयमुक्त निर्वाचनमार्फत लोकतान्त्रिक स्थायित्व र समृद्ध नेपाल निर्माणका लागि सबैलाई एकजुट हुन आह्वान गरिन्।
साथै, उनले प्रजातन्त्र र सुशासनका लागि आफ्नो जीवन अर्पण गर्ने सम्पूर्ण शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जलीसमेत व्यक्त गरेकी छन्।
