काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयवस्तुका सम्बन्धमा आज खुला प्रश्नोत्तर कार्यक्रम आयोजना गर्ने भएको छ।
हिजो जनकपुरमा सार्वजनिक गरिएको प्रतिज्ञापत्रबारे विस्तृत जानकारी दिँदै पार्टीका सभापति गगनकुमार थापाले आज प्रत्यक्ष रूपमा प्रश्नको जवाफ दिने कार्यक्रम तय गरिएको हो।
आज दिउँसो १ बजेदेखि काठमाडौँस्थित राष्ट्रिय सभागृहमा ‘हाम्रो प्रतिज्ञा–तपाईंको प्रश्न’ शीर्षकमा आयोजना हुने कार्यक्रममा सभापति थापाले देश तथा विदेशबाट आउने प्रश्नहरू लिँदै प्रतिज्ञापत्रका विषयमा स्पष्ट पार्ने कांग्रेसले जनाएको छ। जनकपुरमा आयोजित प्रतिज्ञा सभामा उनले प्रतिज्ञापत्रको संक्षिप्त अंश सार्वजनिक गरेका थिए।
कांग्रेसले यसपटक चुनावी घोषणापत्रलाई ‘प्रतिज्ञापत्र’ नाम दिएको छ। प्रतिज्ञापत्रमा युवाहरूका लागि स्वदेशमै मर्यादित रोजगारीका अवसर सिर्जना गर्ने, विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र पुँजीलाई राष्ट्रिय विकासमा उपयोग गर्ने तथा लगानी प्रवर्द्धनमा राज्यको सहजीकरण रहने प्रतिबद्धता जनाइएको छ।
त्यसैगरी कृषि क्षेत्रमा सिँचाइ र मलको अभाव अन्त्य गर्ने, नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी ब्रान्डका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको छ। स्वास्थ्य सेवालाई नागरिकको मौलिक अधिकारका रूपमा सुनिश्चित गर्दै विकसित मुलुकसरहको स्वास्थ्य बीमा प्रणाली लागू गर्ने तथा शिक्षालाई प्रविधिसँग जोडेर गुणस्तरीय बनाउने प्रतिबद्धता पनि समेटिएको छ।
सुशासनका क्षेत्रमा दलीयकरण र भ्रष्टाचार नियन्त्रण गर्दै ‘डिजिटल नेपाल’ अवधारणालाई कार्यान्वयनमा लैजाने तथा परराष्ट्र नीतिमा छिमेकी र मित्रराष्ट्रहरूसँग समानता र आपसी सम्मानका आधारमा सम्बन्ध सुदृढ गर्ने वाचा प्रतिज्ञापत्रमा गरिएको छ।
