काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आज आफ्नो चुनावी वाचापत्र सार्वजनिक गर्ने भएको छ। फागुन २१ गते हुने निर्वाचनका लागि पार्टीले सुर्खेतमा आयोजना गर्न लागेको विशेष चुनावी सभाबाट औपचारिक रूपमा वाचापत्र सार्वजनिक गर्न लागेको हो।
सुर्खेतको घण्टाघर चोकमा मध्यान्ह १२ बजे सुरु हुने ‘परिवर्तन उद्घोष सभा’लाई पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। सभामा पार्टीका केन्द्रीय नेताहरू, स्थानीय नेतृत्व तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहने बताइएको छ।
रास्वपाले सार्वजनिक गर्न लागेको वाचापत्रमा सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहमा सुधार, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार लगायतका विषयलाई प्राथमिकतामा राखिने जनाइएको छ। पार्टीले वैकल्पिक राजनीतिक शक्तिको रूपमा आफूलाई स्थापित गर्ने लक्ष्यसहित नीतिगत स्पष्टता र कार्यान्वयनयोग्य प्रतिबद्धता प्रस्तुत गर्ने तयारी गरेको जनाएको छ।
यसअघि पार्टीले बुधबार धनगढीमा ‘परिवर्तन उद्घोष सभा’ आयोजना गरी चुनावी अभियानलाई तीव्रता दिएको थियो। देशका विभिन्न स्थानमा सभा–सम्मेलनमार्फत मतदातासँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम पनि रास्वपाले अघि सारेको छ।
आगामी निर्वाचनमा उल्लेख्य मत प्राप्त गर्दै संसदमा प्रभावकारी उपस्थिति जनाउने लक्ष्यका साथ रास्वपा चुनावी अभियानमा सक्रिय देखिएको छ।
