काठमाडौं । आज फागुन ७ का दिन राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रमका साथ मनाइँदै छ। शहीद दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीले हाँसीहँसी जीवन उत्सर्ग गरेपछि जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य भएको दिनको स्मरणमा यो दिवस मनाइँदै आएको हो।
२००७ सालको जनक्रान्तिपछि स्थापित प्रजातान्त्रिक व्यवस्थाले नेपाली नागरिकलाई आफ्ना अधिकार प्रयोग गर्ने आधार प्रदान गरेको मानिन्छ। सो आन्दोलनले संवैधानिक रूपमा प्रजातान्त्रिक मूल्य, मान्यता र अभ्यासलाई संस्थागत गर्ने बलियो जग तयार पारेको इतिहासमा उल्लेख छ।
यस वर्षको मूल समारोह काठमाडौंको सैनिक मञ्च, टुँडिखेलमा विशेष कार्यक्रमका साथ आयोजना हुँदैछ। समारोह समितिमा नेपाल सरकारका मन्त्रीहरू, काठमाडौं उपत्यकाका नगरप्रमुखहरू, मुख्य सचिव, प्रधान सेनापति, सुरक्षा निकायका प्रमुखहरू लगायत उच्च पदाधिकारीहरू सहभागी रहेका छन्।
यस अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ भने राष्ट्रपति, प्रधानमन्त्री लगायत शीर्ष नेताहरूले स्वदेश तथा विदेशमा रहेका नेपालीहरूमा शुभकामना व्यक्त गरेका छन्।
