नेपाली कांग्रेसका सभापति गगन थापाले पपुलिजमको आक्रमणबाट नेपालको लोकतन्त्रलाई जोगाउन आवश्यक रहेको बताएका छन्। बुधबार बौद्धिक पेशाकर्मी अभियानको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अहिले परिपक्क लोकतन्त्र पनि पपुलिजमको सिकार भएको भन्दै नेपालको लोकतन्त्र जोगाउनको चुनौती रहेको बताए। उनले भने, “हाम्रो अर्थतन्त्रका आफ्नै चुनौती छन्। संस्थाहरू बलियो नभएको अवस्थामा, आवधिक निर्वाचनबाट पपुलिजम आएको खण्डमा त्यसको भार हामीले थेग्न सक्छौं? यसको उत्तर खोज्नुपर्छ।”
सभापति थापाले गठबन्धनको राजनीतिले चयन अधिकार हाइज्याक गरेको भन्दै कांग्रेसले एक्लै निर्वाचनमा गएर अलिकति भएपनि फोहोर सफा गर्ने प्रयास गरेको पनि बताए। उनले भने, “लोकतन्त्रको स्पेस हाइज्याक भएको छ। कांग्रेसले १६५ क्षेत्रका आफ्ना उम्मेदवार लडाएर, जित–हार जे सुकै होस्, अलिकति भएपनि फोहोर सफा गर्ने प्रयास गरेको छ।”
