झापा – अर्जुनधारा नगरपालिका–११ स्थित क्षितिज महिला विकास सुधार केन्द्रमा राखिएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार शिवसताक्षी नगरपालिका–१०, माइधार बस्ने ३२ वर्षीया सुष्मा लिम्बु फागुन ३ गतेदेखि सुधार केन्द्रमा राखिएकी थिइन्। उनलाई मदिरा सेवनको कारण परिवारले सुधार केन्द्रमा राखेको बताइएको छ।
मंगलबार बिहान करिब ९ः१५ बजे अचानक पेट दुखेपछि उनलाई उपचारका लागि बी एण्ड सी अस्पताल लगिएको थियो। अस्पताल स्रोतका अनुसार उपचारकै क्रममा चिकित्सकले उनको मृत्यु घोषणा गरेका थिए।
घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक्षक रुपेश राई को कमाण्डमा टोली खटिएको थियो। प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ। कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि गएराति नै प्रादेशिक अस्पताल पठाइएको छ।
