वासिङ्टन डीसी । अमेरिकाको उत्तरी क्यालिफोर्नियाको पहाडी क्षेत्रमा आएको शक्तिशाली हिमपहिरोमा फसेका स्कीयरहरूको उद्धारका लागि उद्धार टोली संघर्षरत छन् । मंगलबार भएको उक्त घटनामा ६ जना स्कीयर जीवित अवस्थामा फेला परेका छन् भने १० जना अझै बेपत्ता रहेका छन् ।
नेभाडा काउन्टी शेरिफ कार्यालयका अनुसार लेक टाहोको उत्तरपश्चिममा रहेको क्यासल पिक क्षेत्रअन्तर्गत फ्रग लेक आसपास हिमपहिरो गएको सूचना स्थानीय समयअनुसार बिहान करिब ११:३० बजे ९११ मा प्राप्त भएको थियो । त्यसलगत्तै स्की, हिउँमा गुड्ने विशेष सवारी (स्नोक्याट) र हिउँमा चल्ने मोटरसाइकल (स्नोमोबाइल)सहितको उद्धार टोली परिचालन गरिएको थियो । तर तीव्र हिउँआँधी र पुनः हिमपहिरो जान सक्ने उच्च जोखिमका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ ।
उद्धार अधिकारीहरूले ६ जना स्कीयरसँग आपत्कालीन संकेत उपकरण (बेकन) मार्फत सम्पर्क स्थापित गरिएको बताएका छन् । उनीहरू अस्थायी आश्रय बनाएर उद्धारको प्रतीक्षामा रहेका छन् ।
उक्त टोली तीन दिने दुर्गम हिमाली स्की यात्राको अन्तिम दिनमा रहेको बताइएको छ । सिएरा हिमपहिरो अध्ययन केन्द्रका पूर्वानुमानकर्ताका अनुसार सो क्षेत्रमा पुग्न कठिन पहाडी भूभाग पार गर्नुपर्ने हुन्छ र सहभागीहरूले आवश्यक खाद्य सामग्री तथा उपकरण आफैं बोकेका थिए । यात्रा सञ्चालन गर्ने कम्पनी ब्ल्याकबर्ड माउन्टेन गाइड्सले १२ ग्राहक र ४ जना पथप्रदर्शक सहभागी रहेको जनाएको छ ।
थप हिमपहिरोको जोखिमलाई ध्यानमा राख्दै उद्धार टोली सावधानीपूर्वक अघि बढिरहेको जनाइएको छ । यसैबीच, क्यालिफोर्नियामा यस साता शक्तिशाली हिउँदे आँधीका कारण भारी हिमपात, तीव्र हावा र प्रतिकूल मौसमले जनजीवन प्रभावित भएको छ । अधिकारीहरूले पर्वतीय क्षेत्रमा अनावश्यक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।
