काठमाडौं । नेपाल पत्रकार महासंघ ले निर्वाचनको समयमा पत्रकार आचारसंहिताप्रति विशेष सचेत रहन आमसञ्चार माध्यम र पत्रकारहरूलाई आग्रह गरेको छ।
मंगलबार महासंघका महासचिव रामप्रसाद दाहाल ले विज्ञप्ति जारी गर्दै निर्वाचन अवधिमा मिथ्या सूचनामार्फत मतदातालाई प्रभावित पार्ने प्रयास हुन सक्ने भएकाले पत्रकारिताका मूल्यमान्यता र आचारसंहिताको कडाइका साथ पालना गर्न आह्वान गरेका हुन्।
महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै पत्रकारिताको सिद्धान्त र आचारसंहिताको पालना गर्नुपर्नेमा जोड दिएको छ। स्वस्थ, स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउन सञ्चारमाध्यम र पत्रकारहरूको भूमिका महत्वपूर्ण रहने उल्लेख गरिएको छ।
पछिल्ला दिनमा अनलाइन सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा युट्युबमार्फत विचार, प्रचार र समाचार सम्प्रेषण गर्दा पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिताको पालना नगरेको गुनासो प्राप्त भएको भन्दै महासंघले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
त्यसैगरी, सञ्चार सामग्रीप्रति असहमति भए कानुनी प्रक्रियाबाट समाधान खोज्न सकिने उल्लेख गर्दै व्यक्तिलक्षित रूपमा सामाजिक सञ्जालमा ट्रोल गर्ने प्रवृत्तिप्रति महासंघले आपत्ति जनाएको छ। यस्ता गतिविधि दोहोरिन नदिन सबै पक्षलाई सचेत रहन आग्रह गरिएको छ।
