काठमाडौँ । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम आयोजना गरी ग्याल्पो ल्होसार पर्व उल्लासपूर्वक मनाइरहेका छन् । ‘ल्हो’ अर्थात् वर्ष र ‘छार’ अर्थात् नयाँ भन्ने अर्थ राख्ने यस पर्वलाई शेर्पा समुदायले नयाँ वर्षका रूपमा मनाउने परम्परा छ ।
पर्वको अवसरमा गाउँघर तथा टोलमा रहेका बाटोघाटो र पानीका मूलहरूको सरसफाइ गर्ने, नौ प्रकारका अन्न मिसाएर बनाइने परिकार ‘गुथुक’ र ‘खाप्से’ खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने चलन रहेको छ । यो पर्वलाई पारिवारिक तथा सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइन्छ ।
नेपालका हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायसहित महायान बौद्ध परम्परा मान्नेहरूले चन्द्रमासको गणनाअनुसार फागुन शुक्लपक्ष प्रतिपदाका दिन नयाँ वर्ष प्रारम्भ हुने विश्वासका साथ ग्याल्पो ल्होसार मनाउने गर्दछन् । स्याब्रु नृत्य, तुङ्गना (डम्याङ) को मधुर धुन र सामूहिक उल्लासले यस पर्वलाई अझ विशेष बनाउने गर्दछ ।
नयाँ वर्षका रूपमा मनाइने यस पर्वले समाजमा नयाँ आशा, उमङ्ग र उत्साह थप्दै आपसी प्रेम, सद्भाव, भाइचारा र एकताको भावना सुदृढ बनाउन सहयोग पुर्याउने विश्वास छ । यसले परिवार, मित्रता र समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै सहकार्य र समझदारीको वातावरण सिर्जना गर्दछ ।
यस अवसरमा गुम्बा दर्शन गर्ने, धर्मगुरु तथा लामाबाट आशीर्वाद लिने, खाप्से, डेशिल र गुथुकजस्ता विशेष परिकारको स्वाद लिने तथा परिवारसँग रमाइलो गर्दै समय बिताउने परम्परा रहेको छ ।
