काठमाडौँ — काठमाडौँको मुख्य नाका नागढुङ्गाबाट प्रहरीले झण्डै ३ केजी चाँदीसहित एक किशोरलाई नियन्त्रणमा लिएको छ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बुधबार अपराह्न करिब ४ बजे वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र. ०१–००६ ख ५५२९ नम्बरको यात्रुवाहक बसलाई नागढुङ्गा चेक प्वाइन्टमा रोकी जाँच गरेको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले बसमा सवार पर्साका १७ वर्षीय किशोरको साथबाट २ केजी ९०० ग्राम चाँदी बरामद गरेको हो। उक्त चाँदी कालो झोलाभित्र सेतो प्लास्टिकले बेरी लुकाई छिपाई ल्याइएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
बरामद चाँदीको बजार मूल्य करिब १२ लाख १४ हजार ५२० रुपैयाँ बराबर रहेको प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिए। अवैध रूपमा ओसारपसार गरिएको चाँदीसहित पक्राउ परेका किशोरलाई आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रहरीले जनाएको छ।
