काठमाडौँ – काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट चोरीका स्कुटरसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार कीर्तिपुर र बूढानीलकण्ठ क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको हो।
गत फागुन २ गते, कीर्तिपुर–१० गुरुङ टोलबाट प्रहरीले २४ वर्षीय सन्तोष विष्ट र २२ वर्षीय धर्मेन्द्र खडायतलाई बागमती प्रदेश ०२-०१८ प ७९३६ नम्बरको चोरीको एनटर्क स्कुटरसहित समातेको थियो। उनीहरू कञ्चनपुर घर भई हाल शान्तिनगर बस्छन् र प्रहरी वृत्त कीर्तिपुरले थप अनुसन्धान गरिरहेको छ।
त्यस्तै, फागुन ४ गते, बुढानीलकण्ठ–२ वासिक क्षेत्रमा चेकजाँचका क्रममा प्रहरीले १८ वर्षीय रबिन परियार र २८ वर्षीय निर्मल परियारलाई भक्तपुर ठिमीबाट चोरी भएको बा ६४ प ३७५५ नम्बरको डिओ स्कुटरसहित पक्राउ गरेको छ। उनीहरू उदयपुर घर भई हाल कपन बस्छन्। प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही अगाडि बढाएको छ।
